शून्य देखि शून्य सम्मकै यात्रा…

कुद्दै छौं हामी, अत्तालिएर, पछाडि छुट्टिएला कि भन्ने डरले । तर हामीलाई होसै छैन… हामी कतै पुगिरहेकै छैनौं ।

जन्मिंदै मानिसलाई अघि बढ्न सिकाउँछ समाज । हरेकले धेरथोर प्रगति पनि गर्छ। प्रगति गर्ने प्रयासमा जीवन घर्किरहेको हुन्छ । उकाली, ओराली र घुम्तीहरूले भरिएको भए पनि जीवन यात्रा धेरै उत्साहप्रद भने हुँदैन । धेरै संघर्ष, थोरै रोमाञ्चक यात्रा जीवनको । धेरै उपलब्धि हासिल गरिएजस्तो लागे पनि जन्म देखि मृत्यु सम्मको यात्रा शून्य देखि शून्य सम्मकै यात्रा भइदिन्छ । न अर्थ बुझिन्छ, न सार भेटिन्छ । निष्प्रयोजन यात्रामा आशक्ति भने धेरै । यही होइन र, अगति हुनु भनेको ?

संसारले उक्साएकै भरमा, संसारले नै कोरेको नक्सामा हामी अघि बढिरेहका छौँ । संसारले संसारकै बाटोमा डोर्याउँछ… तपाईंको आफ्नो बाटोमा होइन । समाजले पनि करुणावश प्रगतिको मार्गमा संघर्ष गर्न उप्रेरित गर्छ । किनभने समाजलाई थाहा छ, समाजको वास्तविकता … त्यो अत्यन्त निर्दयी छ । जो अघि बढ्न सक्दैन उसलाई काँचै निलिदिन्छ । उसलाई कठिनाइ हुन्छ । उसको अस्तित्व मेटिन्छ ।

यति डर देखाउँछ समाजले कि डरैडरले मानिस अघि बढ्ने यात्रामा अविराम संघर्ष गरिरहन्छ । उसले आफूलाई बिर्सिन्छ, वरिपरि पनि देख्दैन । हेर्ने आँखा उसले गुमाइसकेको हुन्छ । एक छिन पनि रोकिएर हेर्ने हो भने वास्तविकता अर्कै देखिन्छ । प्रश्न उठ्छ… म किन कुद्दै छु ? यसको अर्थ के ? मेरा प्राप्तिहरूको अर्थ के ? के साँच्चिकै कुदेको कुदेकै गर्नुपर्ने नै हो ? के संसारको वास्तविकता मलाई भनिएकै जस्तो भयावह छ ? के म त्यही त्रासले त कुदिरहेको छैन ? के म आफ्नो इच्छाले एक छिन पनि रोक्न सक्दिनँ ? के म प्रेमपूर्वक आफ्नै चालमा हिँड्न सक्दिनँ ?

निश्चय पनि समाजमा अघि बढ्नु आवश्यक छ तर संसारलाई आफ्नो बनाउने क्रममा आफैँबाट आफू नफुत्कियोस् । समाजले संसार त सिकायो तर संसारमा आफू पनि छु भन्ने कुरा नै भन्न छुटायो ।
संसार छ । संसारमा म छु । म छु र त संसार छ । म बिना मलाई संसारको अर्थ के ? संसार बुझ्नुपर्छ, संसारमा टिक्न । तर त्योभन्दा बढी मैले आफैँलाई बुझ्नुपर्छ । मर्दासम्म पनि आफूलाई बुझिएन भने बाँच्नुको अर्थ के ? यो अगति बाँच्नु भएन र ?

हो, कहिलेकाहीँ संसारबाट साह्रै दिक्क लाग्दा हामी आफूतिर फर्कने प्रयास पनि गर्छौं । आफूलाई बुझ्ने यत्न पनि गर्छौं । तर हामी यति धेरै आफूबाट टाढिइसकेका छौं कि आफू के हो भन्ने भेउ पाउन पनि छोडिसकेका छौं । धेरैजसो हामी ‘म’ भनेर मनको ‘म’ मा नै अल्झिन पनि पुग्छौँ । त्यसैले ‘म’ तिर मात्रै फर्केर पनि यात्रा पूरा हुँदैन… ‘म’ भित्रको ‘म’ मा पुग्नुपर्ने हुन्छ ।

संसारबाट ‘म’ तिर, अनि ‘म’ बाट पनि ‘म’ भित्रको ‘म’ को अन्तर्यात्रा गर्दा गर्दै बोध हुन्छ… ‘म’ भनेर जसलाई म ठानिरहेको छु, त्यो पनि संसारकै उपक्रम रहेछ वा भनूँ, मैले संसार देखिरहेकोले मात्रै ‘म’ पनि देखिरहेको छु । म त संसारको सादृश्य मात्र रहेछु ।

– आर मानन्धर

(शुक्रवार बाट साभार)