यात्रा को अन्तिम उद्देश्य…

जिन्दगी कहाँ कसरी अल्झिन्छ पत्तै नहुने… गाउँ घर त जहिले पनि कोलाहल रहित शान्त हुन्थ्यो नै… आज शहर पनि शान्त छ, हिजो सम्म सवारी साधन को आवाजले होहल्ला मच्चाउने यो शहर आज सुनसान छ… सडक, गल्ली अनि हरेक चोक-चोक सुनसान छन्… संसार लाई नै हल्लाउने, आतंकित र त्रसित बनाउने यो महामारी, यो भाइरस, हिजोको दिन सम्म कहाँ थियो थाहा छैन… तर आज सम्पूर्ण संसारलाई नै आफ्नो मुठ्ठी मा पार्ने चुनौती दिदैछ अनि हरेको मान्छे लाई आतंकित र त्रसित बनाइ रहेको छ…

के म पनि यस भाइरस बाट त्रसित छु त? यो म आफैलाई प्रश्न गर्छु, अवश्य पनि म पनि त्रसित नहुने कुरै भएन… अनि यो त्रास, यो डर, यो भय के को त…?? -मृत्यु को…!!!  सिधा-सिधा उत्तर त मृत्यु नै होला…!!! तर भाइरस लाग्दै मा मृत्यु हुन्छ नै भन्ने त छैन नि…!!!

यदि कुनै पनि भाइरस मेरो शरीर मा प्रवेश गर्छ भने पहिला त त्यो भाइरस संग मेरो शरीर को प्रतिरक्षा प्रणाली लड्छ, जुन मेरो जन्म संगै लिएर आएका छु, मेरो शरीरको प्रतिरक्षा प्रणाली बलियो छ भने भाइरस को मृत्यु हुन्छ, प्रतिरक्षा प्रणाली कमजोर छ भने मेरो यो शरीरको मृत्यु हुन्छ. यस अर्थमा, मेरो जीवन अथवा मृत्यु को निर्णय मेरो शरीरको प्रतिरक्षा प्रणाली ले निर्धारण गर्ने भयो…

अनि अर्को कुरा, मृत्यु त सत्य हो नि…!!! एक दिन अवश्य मृत्यु लाई स्वीकार्नै पर्छ त मैले, अनि मृत्यु को के डर त??? के मृत्यु लाई एक दिन स्विकार्नु पर्छ भन्दै मा अहिले नै मृत्यु लाई रोज्ने कुरा पनि त भएन नि… मान्छे को जिन्दगी हो, मृत्यु नआउदा सम्म संघर्ष त गर्नै पर्यो, नियति मा जे छ त्यो त भोग्ने पर्यो… मृत्यु कुन दिन, कुन समयमा, कुन रुप मा मेरो सामुन्ने टुप्लुक्क आइपुग्छ मलाई के थाहा ??? जुन कुरा मलाई थाहा नै छैन, जुन कुरा कुनै दिन, कुनै समयमा अवश्य आउनेछ, त्यो कुरालाई सोचे पनि… नसोचे पनि… आखिर के नै गर्न सकिन्छ र… जुन कुरा कुनै एक दिन अवश्य भएरै छाड्छ…

जन्म देखि को यो यात्रा आखिर मृत्यु सम्म पुगेर टुंगिने त हो… त्यसैले मलाई त यो जिन्दगी एउटा प्रयोगशाला जस्तै लाग्छ… जहाँ विभिन्न किसिमका परिक्षण हरु गरिन्छ… त्यस बाट कहिले खुसि को अनुभूति प्राप्त हुन्छ, कहिले दु:ख को अनुभूति प्राप्त हुन्छ… कहिले हासो को, कहिले रोदन को… कहिले सफलता को, कहिले असफलता को… अन्य यस्तै यस्तै…

मेरो यो शरीर को जन्म पुर्व म कहाँ थिएँ… के थिएँ… कस्तो अवस्था मा थिएँ… सायद थिएँ कि थिएँन कि??? थाहा छैन… याद हुने कुरा पनि भएन… यो शरीर को जन्म पछी को कति धेरै कुरा हरु त याद छैन, विस्मरण भैसकेको अवस्था छ भने जन्म पुर्व को याद हुने, थाहा हुने त कुरै भएन… र यो शरीर को मृत्यु पछी के हुन्छ त्यो त झन् के थाहा हुन्थ्यो र???

अर्को कुरा, पुर्व-जन्म थियो कि थिएन अथवा मृत्यु पछी फेरी जन्म हुन्छ कि हुन्न भनेर मान्ने कि नमान्ने भन्ने प्रश्न पनि उठ्छ… जे भए पनि… नभए पनि कुनै न कुनै रुप मा थिएँ होला… र कुनै न कुनै रुप मा परिणत हुने छु जस्तो लाग्छ…

यस अर्थमा, यो जिन्दगी को यात्रा मा केहि न केहि नयाँ कुरा सिक्न आएको होला जस्तो लाग्छ… नयाँ-नयाँ कुरा सिक्न को लागि नयाँ-नयाँ प्रयोग हरु गर्नु पर्यो… तब मात्र केहि नयाँ कुरा सिकिन्छ, नयाँ अनुभूति प्राप्त हुन्छ… सायद नयाँ कुरा सिक्ने, नयाँ कुरा को अनुभूति गर्ने कार्य त यो जीवन को अन्तिम स्वास फेर्ने बेलामा पनि हुन्छ, तर त्यो अनुभूति व्यक्त गर्ने माध्यम हरुले साथ नदेलान फरक यत्ती मात्र हुने छ…

सायद, सबै भन्दा भाग्यमानी मान्छे हरु ति हुन्… जो सम्पूर्ण जिन्दगि को यात्रा पुरा गर्न पाउछन्… जसले बालापन, किशोरावस्था, युवा, प्रौढ अनि बुढेसकाल सम्मको यात्राको अनुभूतिहरु गर्न पाउछन्… जो व्यक्ति हरुले जिन्दगी को सम्पूर्ण उमेर आवस्था को अनुभूतिहरु संगाल्न पाउछन्…

यो जिन्दगी को यात्रा मा आफ्नो कर्म लाई अगाडी बढाउदै गर्दा… नयाँ-नयाँ प्रयोग गर्दै गर्दा… नयाँ-नयाँ अनुभूति संगाल्दै गर्दा… यदि अन्तिम स्वास फेर्ने समय आउछ भने पनि… त्यस लाई सहर्ष स्वीकार गर्ने अवस्था र क्षमता यो मन मा सहज रुप मा उत्पन्न हुन सके… सायद यो जिन्दगीको यात्रा सफल भएको अनुभूति हुन्थ्यो होला… त्यसको लागि… यो जिन्दगी को यात्रा को अन्तिम उद्देश्य भनेको के हो भने… अन्तिम स्वास फेर्दै गर्दा… यो जिन्दगी छोड्नु को कुनै पछुतो नहोस… कुनै पिडा नहोस… मुहार मा हल्का मुस्कान आओस… अनि मन मन ले भन्न सकूँ कि…

“वाह…!!! वाह… क्या… जिन्दगी थियो मेरो….!!!”

बस् यस्तै यस्तै कुराहरु यो मन मा खेली रहन्छन्…!!!